विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज यहाँ जेष्ठ सदस्यहरुलाई सम्मान एवं पार्टी प्रवेशलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘देश बनाउन र मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ’ ।
अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य भनेको देश र धर्म जोगाउनु हो भन्दै पार्टीमा लाग्दा कोही कसैलाई कुनै किसिमको पश्ताचाप नहुने विचार राख्नु भयो ।
उहाँले पार्टीलाई शक्तिशालीे बनाउन गाउँ गाउँमा संगठन विस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।
पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्नका लागि अहिले देखि जनताले भोग्नु परेका ज्वलन्त समस्या उठाउन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा १७५ जना पार्टीका जेष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरि आउनेहरुलाई स्वागत गरिएको थियो ।