रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन् ।
कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।”
रूसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन् ।
एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकप्टर हो जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ ।
हराएको हेलिकप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो ।
आपतकालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन।
मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।
रूसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो वस्ती र कम जनसङ्ख्या रहेको छ ।
सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।
सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए।