विराटनगर । राजमार्गमा सफारी संचालनमा रोक लगाएको भन्दै आन्दोलनमा उत्रिएका सफारी चालकको आन्दोलन तत्कालका लागि रोकिएको छ । सिडिओले बार्ताको माध्यमबाट समस्याको समाधान गर्न शनिबारका लागि बोलाएपछि आन्दोलन रोकिएको हो ।
बिहीबारबाट राजमार्गमा सफारी संचालनमा रोक लगाएपछि आज शुक्रबार सिटी सफारी चालक आन्दोलित भएका थिए । उनीहरू महानगरपालिका अगाडी प्रदर्शन गर्दै बरगाछीमा आएर राजमार्ग नै अवरुद्ध गरेका थिए ।
सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्दा यातायातका साधन चल्न सकेका थिएनन् । उनीहरुले राजमार्गमा सफारी चलाउन नपाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राखेका छन् । विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न रोक लगाएको थियो । उनीहरूको आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले एक्यवद्धता जनाएका थिए ।