विराटनगर १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्याउने बताउनु भएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आजसम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पुर्याउने जानकारी दिनु भयो । मन्त्री पौडेलले मुलुकमा सुर्ति र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्ड हाल्नु पर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेको कुरामा जोड दिनुभयो । उहाँले आज हस्ताक्षर र सम्झौताले अबुर्द रोग उपचारका लागि नागरिकहरुलाई चितवन र भक्तपुरमा जानु पर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा राख्नुभयो ।
मन्त्री पौडेलले भत्रुभयो, ‘ जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्नु हुँदैन, जनतालाई लोकतन्त्रको महशुस गराउन स्वास्थ्य सेवा सुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनु पर्छ र आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नु पर्छ ।’उहाँले कोशी अस्पतालको सेवा भद्रगोल भएकोमा चिन्ता व्यक्त्त गर्दै जनताको सेवा सुविधालाई मन्त्रालयले बनाएको नियम, कानुन र नीतिको पालन गर्न निर्देशन दिनुभयो । मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा हो भन्दै अस्पतालले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यक्ता आँैल्याउनु भयो ।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा कायम गर्नु पर्नेमा जोड दिनु भयो । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छ देखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले जानकारी दिनु भयो । कोशी अस्पतालले विसं २०७२ देखि अबुर्द रोगको उपचार गर्दै आइरहेको छ ।