विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरती शुभारम्भ हुने भएको छ । परमार्थ सिंघिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रबार सन्ध्याकालिन आरती गर्न लागेको हो । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रत्येक शुक्रबार र विशेष पर्वको दिन आरती गरिने जनाएको छ ।
आयोजक परमार्थ सिंघिया आरती सेवा समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले शुक्रबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आरतीको शुभारम्भ गर्ने छन् । भोलिदेखि चार दिन नियमित रूपमा हुने गंगा आरती त्यसपछि भने प्रत्येक शुक्रबार हुने संयोजक कार्कीले बताए ।
शुक्रबार साँझ ६ः३० बजेदेखि ७ः१५ बजेसम्म सञ्चालन हुने आरतीमा पाँच जना आरती विशेषज्ञ गुरुबाट हुने उनले बताए । आरतीका संरक्षणकर्ता शंकर खरेलका अनुसार भोलि हुने शुभारम्भ कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन आउने आँकलन गरिएको छ । जसका लागि परोपकारघाटको सिंघिया नदिको वारिपारि आरती हेर्न आउने भक्तजनका लागि उभिने व्यवस्थित स्थानको व्यवस्थापन गरिएको छ ।
समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्न र निरन्तरता दिन २ सय ५१ सदस्यीय मुल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ । शुक्रबारको परमार्थ सिंघिया आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुली सहभागी हुने बताइएको छ ।
प्रत्येक शुक्रबार हुने आरती सञ्चालनका लागि दैनिक १५ हजारसम्म खर्च हुने आयोजकको अनुमान छ । सुरुआती चरणमा उक्त खर्च समितिबाट व्यवस्था गरिएको संरक्षणकर्ता लुइँटेलले बताए । उनका अनुसार सिंघिया नदीस्थित परोपकार घाटमा गत वर्ष ४०० जनाभन्दा बढीको अन्तिम संस्कार भएको उल्लेख गर्दै पितृ मोक्ष हुने धार्मिक आस्था र समाजबीच एकता कायम गर्नु पनि परोपकार घाटमै आरुती गर्न लागिएको हो ।
आरती सेवा समितिका महासचिव राजन न्यौपानेका अनुसार प्रशासनमा दर्ता गरिएको आरती सेवा समितिका हरहिसाब पारदर्शी हुने र मुनाफा नराखी धार्मिक पर्यटनलाई बढावा दिन र सामाजिक सद्भाव कायमै राख्न आरतीको आयोजना गर्न आँटिएको हो । दाता एवम् भक्तजनबाट संकलित रकममध्ये उब्रिएको रकम परोपकार घाटकै विकासमा खर्च गर्ने आयोजकको योजना छ । भक्तजनबाट आउने भेटी बैंकिङ प्रणालीमा जाने पनि उनको भनाइ छ । आरतीका मुख्य गुरु गोकुल भण्डारीले सन्ध्याकालीन आरतीको धार्मिक महत्त्व ज्यादै हुने बताउँदै आरतीमा सहभागी हुन सबैलाई अपिल गरे ।