विराटनगर । दसैँपछिको पहिलो सेयर कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१।४८ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १।१७ प्रतिशतले वृद्धि भएर २६९९।६६ विन्दुमा बन्द भएको हो ।
यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
मंगलबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०।२२ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४।६१ प्रतिशतले वृद्धि भएको छ ।