विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ स्थित अकाहा बजारमा रहेको दुर्गा मन्दिर अगाडिको सडक दसैंको मुखमा समेत हिलैहिलोको अवस्थामा रहेको छ । स्थानीय बासिन्दाले मिसगिट्टीको माग गर्दा समेत सम्बन्धित निकायले वास्ता नगरेको स्थानीयहरूको गुनासो छ ।
सडक छेउको हिलो माटो जेसिबिले काटेर हाल्दा सडकको अवस्था बिग्रिएको थियो । त्यसमाथि पालिकाले बाहिरबाट ल्याएर थोरै मात्रामा माटो र गिट्टी हाल्दा सडकको अवस्था झनै खराब बनेको छ । आवश्यकता अनुसार पर्याप्त मिसगिट्टी नहालिँदा र अव्यवस्थित तरिकाले माटो हालिँदा बाटोको अवस्था दिनानुदिन बिग्रँदै गएको छ । यसले गर्दा सर्वसाधारण तथा बटुवाहरूलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको छ ।
दशैं पर्वको अवसरमा मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले स्थानीयहरूले पालिकासँग पटक–पटक मिसगिट्टी हाल्न आग्रह गरे पनि कुनै सुनुवाई नभएको स्थानीयहरू बताउँछन्। ।
सरोकारवाला निकायले यथाशीघ्र पर्याप्त मात्रामा मिसगिट्टी हाली बाटो मर्मत गरी दशैंको समयमा भक्तजनहरूलाई मन्दिर जान सहज वातावरण बनाइदिन स्थानीयहरूले माग गरेका छन्। ।