नौं महिनाको लामो प्रतीक्षापछि सन्तान आमाको छातीमा टाँसिनुको अनुभव नयाँ आमाले शब्दमा व्यक्त गर्न सक्दिनन् । त्यससँगै नयाँ आमाको यात्रा सुरु हुन्छ । आमाको पहिलो जिम्मेवारी हुन्छ, बच्चालाई स्तनपान गराउनु ।
किनकि नवजात शिशु ६ महिनाको नभएसम्म आमाको दूधमा पूर्ण रूपमा निर्भर रहन्छ । तसर्थ, नयाँ आमाहरूलाई स्तनपानसँग सम्बन्धित सबै कुरा थाहा हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।
वात्सल्य आईभीएफ सेन्टरमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेत भन्छिन्, ‘जन्मेको दिनदेखि ६ महिनासम्म बच्चालाई चाहिने सबै पोषक तत्त्व आमाको दूधमा पाइन्छ । त्यसैले यो अवधिमा बच्चाका लागि स्तनपान धेरै महत्त्वपूर्ण छ ।’
६ महिनादेखि १२ महिनासम्मको अवधिमा बच्चालाई चाहिने पोषक तत्त्वमध्ये आधा आमाको दूधबाट र आधा अन्य ठोस खानाबाट प्राप्त हुन्छ ।
यसपछि पनि एक वर्षदेखि दुई वर्षसम्मका बालबालिकालाई आवश्यक पर्ने पौष्टिक तत्त्वमध्ये एक तिहाइ आमाको दूधबाटै उपलब्ध हुने हुँदा स्तनपान गराउनुपर्छ ।
स्तनपानका तीन चरण
डा. बस्नेतका अनुसार बच्चा जन्मेपछि आमाले कोलोस्ट्रम स्राव, संक्रमणकालीन दूध र परिपक्व दूध गरी तीन चरणमा दूध उत्पादन गर्छन् ।
– बच्चा जन्मेको दुईदेखि पाँच दिनपछि कोलोस्ट्रम स्राव हुन्छ । यसमा कोलेस्ट्रोल, न्युक्लियोसाइड र इम्युनोग्लोबुलिन जस्ता धेरै एन्टिबडी हुन्छन्, जसले बच्चालाई कुनै पनि संक्रमणबाट बचाउन सक्छ ।
– संक्रमणकालीन दूध जन्मेको दोस्रो र पाँचौं दिनको बीचमा दोस्रो हप्तासम्म निस्कन्छ । यो समयमा स्तन भरिएको र तातो अनुभव आमाले गर्छिन् । सो दूध बिस्तारै नीलो वा सेतो रङमा परिणत हुन्छ ।
– परिपक्व दूध दोस्रो वा तेस्रो हप्ताबाट आउन थाल्छ । यो दूधमा बोसोको मात्रा बदलिन्छ ।
कोलोस्ट्रम र परिपक्व दूधबीचको भिन्नता भनेको कोलोस्ट्रम दूध सामान्य दूधको तुलनामा पहेंलो रङको हुन्छ ।
आमाको दूधमा ८० प्रतिशत पानी हुन्छ भने ठोस खाना १२ प्रतिशत हुन्छ । यसमा दुई प्रतिशत कार्बोहाइड्रेट र प्रोटिन पनि हुन्छ । साथै यसमा निर्धारित मात्रामा आवश्यक सबै सूक्ष्म पोषक तत्त्व पनि पाइन्छ, जसले बच्चाको पाचन प्रक्रियामा मद्दत गर्ने उनी बताउँछिन् ।
त्यसैले नवजात शिशुलाई जन्मेको पहिलो ६ महिना आमाको दूध बाहेक अन्य खानेकुरा उपलब्ध गराइँदैन ।
‘यदि भोक लागेको बेलामा सही तरिकाले स्तनपान गराउने हो भने बच्चालाई पनि पानी खुवाउनुपर्दैन,’ डा। बस्नेत भन्छिन् ।
स्तनपान कहिलेसम्म ?
स्त्रीरोग विशेषज्ञ डा. माला श्रेष्ठका अनुसार बच्चा जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउनु बच्चाका लागि निकै स्वस्थकर हुन्छ । कामकाजी महिलाले दूधलाई फ्रिजमा राखेर भोक लागेको बेला सोही दूध बच्चालाई दिने गरेको पाइन्छ ।
तर फ्रिजबाट सिधै चिसो दूध खुवाउनु हुँदैन । दूध सामान्य तापक्रममा नपुगेसम्म कुर्नुपर्छ । र, दूध सामान्य भएपछि मात्र खुवाउनुपर्ने श्रेष्ठ बताउँछिन् । ‘दूध भण्डार गरेर पछि बच्चाहरूलाई खुवाउनु गलत होइन, तर यो प्रक्रियामा दूधमा पोषक तत्त्वहरू कम हुने सम्भावना हुन्छ,’ उनी भन्छिन्, ‘चिसो दूध बच्चाको स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ ।’
तसर्थ, आमाहरूले आफ्ना सन्तानलाई एक वर्षको उमेर नपुग्दासम्म कामकाजभन्दा बच्चालाई प्राथमिकता दिन उनको सुझाव छ ।
बच्चाहरूका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?
डा. मालाका अनुसार आमाको दूधले बच्चालाई छ महिनासम्म पोषक तत्त्व र एन्टिअक्सिडेन्ट प्रदान गर्छ ।
‘आमाको दूधले बच्चालाई दीर्घकालीन, अल्पकालीन वा कुनै पनि प्रकारको संक्रमण र समस्याबाट बचाउँछ,’ उनी भन्छिन् ।
आमा र सन्तानको कसिलो बन्धन
स्तनपानको समयमा आमा र बच्चाबीच एक प्रकारको कसिलो बन्धन हुन्छ । यो बन्धन बच्चाहरूको विकासका लागि धेरै महत्त्वपूर्ण हुने डा। श्रेष्ठ बताउँछिन् ।
यस अवधिमा बच्चाले आमासँग सुरक्षित महसुस गर्छ । यो बन्धनले बच्चाको शारीरिक र मानसिक विकासमा धेरै हदसम्म मद्दत गर्ने उनको भनाइ छ । तर अहिले धेरैजसो आमाले दूध कम उत्पादन हुने समस्या भोगिरहेका छन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ५६ प्रतिशत सुत्केरी महिलाले मात्र पूर्ण स्तनपान गराउने देखिएको थियो । अर्थात्, १०० जनामा केवल ५६ आमाले मात्र बच्चा जन्मिएको ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्रै चुसाउने खुवाउने गरेका छन् ।
कतिपयले आफ्नो दू नखाएर यसको विकल्पमा ल्याक्टोजेनको सहारा लिन बाध्य छन् । कतिपय आधुनिकताको प्रवेशसँगै नयाँ आमामा आफ्नो दूधभन्दा बट्टाको फर्मुला मिल्क बढी पोषणयुक्त तथा राम्रो हुन्छ भन्ने भ्रमपूर्ण बुझाइले गर्दा फर्मुला मिल्क तथा ल्याक्टोजेनको सहारा लिएको देखिन्छ ।
यस्ता उत्पादनले बच्चालाई चाहिने खानेकुराको पूर्ति त हुन्छ । तर आमाको दूध जति सुरक्षित र शक्तिशाली नहुने डा. बस्नेत बताउँछिन् ।
दूध नै नआएको स्थितिमा के गर्ने त ?
यसैको विकल्पमा मात्र ‘फर्मुला मिल्क’ बनाइएको हो । आमाको दूधमा पाइने पोषक तत्त्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ ।
यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टिबडी बनाउनमा योगदान दिंदैन । दूध नै नआएको खण्डमा राम्रो विकल्प भए पनि यदि दूध आइरहन्छ भने यस्ता उत्पादनभन्दा आमाको दूध खुवाउनु उपयुक्त हुने डा. बस्नेत बताउँछिन् ।
‘फर्मुला मिल्क लिंदा उच्च लिक्विड प्रोटिन भएको लिनुपर्छ । आमाको दूधमा लिक्विड प्रोटिन ७० प्रतिशत हुन्छ, जसले शिशुको शारीरिक विकास गर्न र कब्जियत हुन नदिन भूमिका खेल्छ, ’उनी भन्छिन् ।
दूध किन कम उत्पादन हुन्छ ?
आमाको दूध उत्पादनमा स्वास्थ्य अवस्थाले पनि फरक पार्न सक्छ । आमा स्वस्थ छिन्, पर्याप्त आराम पाएकी छन्, शान्त छिन् र खानपान राम्रो छ भने दूधमा सम्पूर्ण पोषण प्राप्त हुन्छ । उत्पादन पनि सोही अनुपातमा हुन्छ । तर आमामा तनाव, हर्मोन असन्तुलन, थाइराइड जस्ता समस्या भएमा कम दूध उत्पादन हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। बस्नेत बताउँछिन् ।
‘तनावले हर्मोनल असन्तुलन ल्याउँछ, जसको प्रभाव दूध उत्पादनमा पर्छ । यसबाहेक स्तनको तन्तु अर्थात् कोषिकाको समूह, हाइपोथाइराइडिज्म, कम तौलका कारण पनि आमाको कम दूध उत्पादन हुनसक्छ, उनी भन्छिन्, ‘आमाको दूधको गुणस्तर र मात्रा बढाउनमा फ्याट आवश्यक हुन्छ । आहारमा बोसो, प्रोटिन र तरल पदार्थ कम भएमा पनि दूध कम उत्पादन हुन्छ ।’
कतिपय महिला स्तनको आकारअनुसार दूध कम वा बढी हुन्छ भन्ने विश्वास गर्छन् । अर्थात्, धेरैमा स्तनको आकार ठूलो भए धेरै दूध आउने र आकार सानो भए थोरै दूध आउने भ्रम व्यापक छ । आमाको दूध उत्पादनसँग स्तनको आकारको कुनै सरोकार नहुने डा। बस्नेत बताउँछिन् ।
स्तनपान बच्चाका लागि अमृत समान मात्र होइन, आमाको स्वास्थ्यका लागि पनि फाइदा गर्ने भएकाले औषधिको रूपमा काम गर्ने उनी बताउँछिन् ।
के छन् फाइदा ?
– बच्चा जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्किन्छ ।
– प्रसूति अवस्थामा भएको रक्तस्राव कम हुन्छ ।
– स्तनपानले पाठेघर सामान्य अवस्थामा फर्किन मद्दत पुर्याउँछ ।
– जन्मिने बित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ ।
– तुरुन्तै र पटक(पटक दूध चुसाउनाले स्तन गानिने समस्या कम हुन्छ ।
– आमाको दूध जुनसुकै बेला र जहाँ पनि निर्धक्क खुवाउन सकिन्छ ।
– आमा र बच्चाबीच आत्मीयता बढ्छ ।
– महिनाबारी नफर्किएको अवस्था तथा बच्चा जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा गर्भनिरोधकको रूपमा काम गर्छ ।
– आमाको डिम्बाशयमा हुने क्यान्सर र स्तन क्यान्सरको खतरा कम हुन्छ ।
– आमाको अनावश्यक तौललाई कम गर्छ ।
स्तनपान गराउने तरिका
– आमाले सधैं सहज हुने तरिकाले बसेर बच्चालाई काखमा राखेर स्तनपान गराउनुपर्छ । बच्चालाई काखमा राख्दा राम्रोसँग शरीर सन्तुलित पार्नेगरी एक हातले टाउकोमा राखेर खुवाउनुपर्छ ।
– आफू सुतेर बच्चालाई स्तनपान गराउनु हुँदैन । यसले बच्चालाई खान असहज हुन्छ ।
– स्तनपानपछि बच्चालाई काँधमा राखेर केही समय पीठमा हल्कासँग स्पर्श गर्नुपर्छ ।
आमाले कस्तो खानपान गर्ने ?
सुत्केरी आमाले प्रोटिनयुक्त तथा फ्याट भएको खानेकुरालाई प्राथमिकता दिनुपर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। बस्नेत बताउँछिन् । स्तनपान गराउने महिलाले प्रोटिनयुक्त खानेकुरा दिनको तीन पटक लिनुपर्छ ।
वनस्पतिबाट ९० प्रतिशत र १० प्रतिशत माछामासुबाट प्रोटिनयुक्त खानेकुराको परिपूर्ति गर्न सकिन्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, ज्वानो, माछामासु खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ ।
स्तनपान गराउने आमामा चिन्ता
डा. बस्नेतका अनुसार पहिलो पटक आमा बन्दा कतिपयमा केही अन्धविश्वासले जरा गाडेको पाइन्छ ।
‘धेरैमा बच्चालाई दूध खुवाएमा स्तन झोलिने र आकारप्रकार नराम्रो देखिने भ्रम हुन्छ । यही चिन्ताले उनीहरू गर्भवती भएपछि डराउँछन्,’ उनी भन्छिन्, ‘स्तन खुकुलो हुनुको लागि स्तनपान होइन, उमेर र आनुवंशिकता जिम्मेवार हुन्छ ।’
आमालाई उचित निद्रा आवश्यक
बच्चालाई राति निद्रा लाग्दैन भने आमालाई पनि निद्रासम्बन्धी समस्या निम्त्याउन सक्ने डा. थापा बताउँछिन् ।
‘राम्रो निद्रा आमाका लागि आधारभूत आवश्यकता हो । निद्रासँग सम्बन्धित समस्या भइरहेमा आमालाई शारीरिक र मानसिक दुवै रूपमा असर गर्छ । विशेषगरी डिप्रेसनसँग सम्बन्धित समस्या निम्त्याउँछ,’ डा. बस्नेत भन्छिन् ।
बच्चा सुतेको वा अरू कसैले हेरविचार गरेको समयमा सुत्न र आराम गर्न सकिन्छ । यो समयमा घरमै आराम गर्नुपर्ने हुँदा पट्यार लाग्न सक्छ । यो समय सदुपयोग गर्न मनलाई खुसी पार्न रुचि लागेको क्रियाकलापमा ध्यान दिन सकिन्छ ।