०८ पुष २०८१, सोमबार

कोशी प्रदेश सभाद्वारा प्राकृतिक विपत्तिमा परेकाप्रति समवेदना

Logo
आजको अपडेट आइतबार, आश्विन १३, २०८१

विराटनगर, असोज १३ । कोशी प्रदेश सभाले हालै देशका विभिन्न भागहरूमा आएको बाढी, पहिरो र अन्य प्राकृतिक विपदबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले आज जारी गरेको एक शोक वक्तव्यमा यी प्राकृतिक प्रकोपहरूबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरिएको छ ।

वक्तव्यमा उल्लेख गरिए अनुसार, यी विपत्तिहरूले धेरै नागरिकहरूको अमूल्य जीवन लिएको, हजारौंको घरबार ध्वस्त गरेको र लाखौं मानिसलाई असहाय बनाएको छ । ग्रामीण क्षेत्रदेखि शहरी बस्तीहरूसम्म व्यापक क्षति पुगेको, कृषियोग्य जमिन बगर बनेको, र पुल, सडक र आधारभूत संरचनाहरू बाढीले बगाएको जानकारी दिइएको छ ।

सभामुख बिष्टले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, पीडित परिवारहरूलाई धैर्यधारण गर्न अनुरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वक्तव्यमा यो विपद् कुनै एक क्षेत्रविशेषको समस्या मात्र नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गरिएको छ । यस गम्भीर संकटमा तत्काल राहत, उद्धार र पुनर्स्थापनाको लागि सबै एकजुट हुन आह्वान गरिएको छ ।

अन्त्यमा, कोशी प्रदेश सभाले पीडितहरूको पुनर्स्थापना तथा राहतका लागि सबै जनसमुदाय, संघसंस्था, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई आवश्यक सहयोग र सहकार्यका लागि आह्वान गरेको छ ।
यो शोक वक्तव्य नेपालका विभिन्न भागहरूमा आएको विनाशकारी प्राकृतिक प्रकोपहरूको पृष्ठभूमिमा जारी गरिएको हो, जसले देशभर ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220