विराटनगर २९ साउन । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । बंगलादेशीले यसअघि पनि जोगवनीबाटै नेपाल प्रवेश गर्न खोजेका थिए । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै त्रासका कारण त्यहाँका नागरिकले मुलुक छाड्ने क्रम चलिरहेको छ । तीमध्ये केहीले नेपाल प्रवेश गर्न खोजेको पाइएको हो ।
त्रासमा परेर मुलुक छाड्ने मनिस्थिति बनाएका बंगलादेशका नागरिकले बारम्बार नेपाल प्रवेशको प्रयास गरिरहेका हुन् । नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता पठाइएको हो । उनीहरुले भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेको बस्नेतले बताए । दुवै जनालाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट दिउँसो १२ः४५ बजेतिर भारततर्फ नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
बस्नेतका अनुसार प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो । त्यसपछि उनीहरुलाई भारततिर नै फिर्ता पठाइएको हो । यसअघि पनि जोगवनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न खोज्दै गर्दा बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो । बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।
चेकजाँच तीव्र पारिएको छ । नेपाल र सशस्त्र प्रहरीसमेतका सुरक्षा निकायबीच समन्वय गरेर नाकामा चेकजाँच बढाइएको डीएसपी बस्नेतले बताउनुभयो । जोगवनी हुँदै नेपाल प्रवेश गर्ने हरेकलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको उहाँको भनाइ छ ।