विराटनगर । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्दैछ । यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन् ।
चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ । पारो एफसीमा तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडी छन् ।
खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन् ।
भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए ।
पछिल्लो सिजन मच्छिन्द्र क्लबसँग नतिजा सुखद नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजलाई राम्रो चुनौती दिने उनको विश्वास छ ।