विराटनगर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।
आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको छन्।
दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।