२८ पुष २०८१, आइतबार

उद्योगीबीचका झगडाले कोसी प्रदेश लगानी सम्मेलन विवादमा

Logo
आजको अपडेट शुक्रबार, मंसिर २१, २०८१

विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन तयारी सुरु नहुँदै विवादमा तानिएको छ । विराटनगरका उद्योगी व्यवसायीसम्बद्ध संगठन र संस्थाहरूबीच आपसी मतभेद र एकले अर्कोलाई निषेध गर्न खोजेपछि प्रदेश सरकारको लगानी सम्मेलन प्रारम्भमै विवादमा तानिएको हो ।

संघीय सरकारले यसअघि गरेका लगानी सम्मेलनमा प्रतिबद्धता जनाएका लगानी समेत अपेक्षित नआएको अवस्थामा प्रदेशले गर्ने सम्मेलनको हैसियत र औचित्यमाथि त्यसै प्रश्न तेर्सिएकै छ ।

नेपाल उद्योग परिसंघ कोसी प्रदेश समितिले लगानी सम्मेलनमा उद्योगी व्यवसायीको समान हैसियतको प्रतिनिधित्वमाथि प्रश्न उठाउँदै बहिष्कार गर्ने चेतावनी दिएको छ । परिसंघका अध्यक्ष पवन शारडाले उद्योगीको असन्तुष्टि लिखित रूपमै प्रदेश सरकारलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीलाई पत्रमार्फत ध्यानाकर्षण गराउँदै ‘लगानी सम्मेलनको सबै प्रक्रियाबाट आफूहरू अलग रहन सक्ने’ चेतावनी दिइएको छ ।

कोसी सरकारले यही माघ ११ देखि १३ गतेसम्म प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्दै तयारी अघि बढाएको छ । यसका लागि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको नेतृत्वमा लगानी सम्मेलन निर्देशक समिति र आन्तरिक मामिला तथा कानुनमन्त्रीको नेतृत्वमा नीतिगत तथा कानुन सुधार समिति गठन गरिएको छ ।

प्रदेश लगानी प्राधिकरणलाई समन्वय, सहजीकरण गर्दै लगानीका क्षेत्र तय गर्ने जिम्मेवारी तोकिएको छ । सम्मेलन गर्न तीन करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।

प्रदेश सरकार आफैँ आयोजक बनेर सम्मेलन गर्नुको साटो कुनै अर्को औद्योगिक संस्थालाई जिम्मेवारी तोक्न लागेको परिसंघको आरोप छ । अध्यक्ष सारडा भन्छन्, “हामीलाई सह–संयोजक राखेर अरु संगठनलाई जिम्मेवारी दिन लागिएको हो भन्ने हाम्रो बुझाइ छ । यसप्रति हाम्रो आपत्ति छ ।”

शारडाले सरकार आफैँ आयोजक भएर कार्यक्रम गर्नुपर्ने र यस विषयमा सरोकारवालासँग थप छलफल गर्नुपर्ने सुझाव दिए । “राज्यको कार्यक्रम कसैकोतम्बुमा बसाएर गर्दा त्यसको के सन्देश जान्छ रु’’ अध्यक्ष शारडाले बाह्रखरीसँग भने, “कुनै मेलामा पाहुना बोलाएर लगानी सम्मेलन गर्दा शोभनीय देखिँदैन । संस्थालाई दिने हो भने सबैको समान सहभागिता हुनुपर्छ ।’’

औद्योगिक र अर्थसँग सम्बन्धित कार्यक्रमको कुशल व्यवस्थापन गर्ने छवि बनाएको उद्योग संगठन मोरङलाई सरकारले लगानी सम्मेलनको संयोजन गर्ने जिम्मेवारी तोकेको छ । तर, तुलनात्मक रूपमा कमजोर संगठन र औसत व्यवस्थापनको भूमिकामा रहेको परिसंघले अर्घेल्याइँ गरेको जिकिर उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना गर्छन् ।

उनले भने, “हामीले आयोजना गर्न लागेको औद्योगिक मेलाको भेन्यूलाई नै लगानी सम्मेलन आयोजनास्थल बनाउन लागेको विषयमा परिसंघलाई जलन भएको हो । तर, यसअघिका सहमति समेत परिसंघले लत्याएको छ ।”

संगठनको कार्यक्रममा परिसंघले ‘टाङ अड्याउन खोज्नु नौलो नभएको’ उनको टिप्पणी छ । संगठनलाई सरकारले सम्मेलन गर्न धेरै बजेट दिएको भनेर समेत गलत प्रचार गरिएको सुरानाले सुनाए ।

२०७५ मंसिर २५ गते संगठन र तत्कालीन मोरङ व्यापार संघबीच भएको दुईपक्षीय सहमति स्मरण गर्दै सुरानाले त्यसलाई समेत बेवास्ता गर्ने काम भएको बताए । पवन शारडा, प्रकाश मुन्दडासहितका उद्योगी विगतमा संघको नेतृत्वमा थिए ।

त्यहाँ नयाँ नेतृत्व आएसँगै उद्योग संगठनका पूर्वअध्यक्ष भीम घिमिरेले परिसंघ प्रदेश समिति गठन गरी अध्यक्ष बनेका थिए । शारडा त्यसको नेतृत्वमा छन् । सुराना भन्छन्, “एक संगठनले गर्ने राम्रो कामलाई विरोध नगरी समर्थन र सहयोग गर्ने सहमति लत्याउने काम भएको छ ।”

लगानी सम्मेलन देखाउँदै उद्योगी व्यवसायीका संघ संगठनबीचका विवादमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन । परिसंघले उद्योग संगठनलाई समेत पत्र दिएर ध्यानाकर्षण गराएको अध्यक्ष सुरानाले सुनाए ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: aajakoupdate2080@gmail.com

Phone: 9746950220