विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ ।
सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ सम्झौताले विद्यार्थीलाई बजार सर्वेक्षणमा आधारित व्यवहारिक अनुभव प्रदान गर्ने तथा उनीहरूलाई उद्यमशीलता विकासका लागि प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।’ सम्झौता पछि हेल्भेटास नेपालका टिम लिडर हरिबहादुर गुरुङले एपीएस उपकरणले विद्यार्थीहरूलाई कुनै पनि सम्भावित क्षेत्रमा मुख्य स्रोतहरू, बजार अवस्था र उत्पादन प्रवद्र्धनको गहिरो अध्ययन गर्न सक्षम बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यसको प्रयोगले विद्यार्थीहरूले बजार संरचना, प्रतिष्पर्धी अवस्था र सम्भावित उत्पादनहरूलाई स्पष्ट रूपमा विश्लेषण गर्न सिक्नेछन ।’ सम्झौता कार्यक्रममा हेल्भेटास नेपालको मधेश प्रदेशका उद्यम विकास अधिकृत कृष्णलाल कर्णले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यबाट नयाँ सम्भावनाहरूको ढोका खोलेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अब हामी संयुक्त परियोजनाहरू मार्फत विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा रोजगारी सिर्जना गर्ने प्रयासलाई अगाडि बढाउनेछौं ।
यो सहकार्यले शैक्षिक र व्यावसायिक क्षेत्रलाई एक अर्कासँग थप नजिक बनाउनेछ ।’ विश्वविद्यालयले यस वर्षभित्रै एपीएस उपकरणलाई बीबीए र एमबीएको पाठ्यक्रममा समावेश गरिनुका साथै, एपीएस सम्बन्धी शिक्षण पुस्तिका तयार गरिने भएको छ ।
शिक्षकहरूका लागि विशेष सेमिनारको आयोजना गरिने व्यवस्थापन संकायका डिन डा. श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ एपीएस उपकरणको माध्यमबाट विद्यार्थीहरूले कुनै पनि क्षेत्रमा रहेको आर्थिक सम्भावना पहिचान गरी त्यसको विश्लेषण गर्न सक्नेछन ।
यसले उनीहरूलाई उद्यमशीलताको दिशामा अघि बढ्न प्रोत्साहित गर्नेछ ।’ समझदारीपत्रले शैक्षिक क्षेत्र र व्यवसायिक संस्थानबीचको सहकार्यलाई मजबुत बनाउँदै आगामी डिसेम्बर २०२४ भित्रै शिक्षण पुस्तिका निर्माण र शिक्षक सेमिनार सञ्चालन गर्न मार्ग प्रशस्त गरेको बताईएको छ ।
शैक्षिक र आर्थिक विकासको यो यात्राले देशभरका विद्यार्थीहरूको शैक्षिक अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
सम्झौता कार्यक्रममा विशेषज्ञ अरविन्द श्रेष्ठ, डा. वासुदेवलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।